गलकोट भलिबल प्रतियोगिता उपाधि

बागलुङ — बुर्तिवाङमा आयोजित दोस्रो मेयर रनिङ सिल्ड भलिबल प्रतियोगिता साबिक विजेता गलकोट नगरपालिकाले जितेको छ । कोजाग्रत पूर्णिमाको अवसरमा ढोरपाटन नगरपालिका र बुर्तिवाङ राइजिङ क्लबद्वारा आयोजित मेयर कपमा गलकोट बीले आयोजक ढोरपाटन ‘ए’ लाई सोझो सेटमा हराएर उपाधि रक्षा गरेको हो ।

उपाधि जितेपछि गलकोट नगरपालिकाको भलिबल टिम । गलकोटले २६–२४, २७–२५, १५–१३ को सेटमा जित हात पायो । गलकोटले १ लाख १ हजार १ सय ११ रुपैयाँ र ढोरपाटनले ६१ हजार १ सय ६१ रुपैयाँ पुरस्कार पाए । महिला भलिबलको उपाधि तमानखोलाले जितेको छ । फाइनलमा तमानका दुई टिमबीचको प्रतिस्पर्धामा ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई सोझो सेटमा हरायो । विजेताले ६१ हजार १ सय ६१ रुपैयाँ पुरस्कार पायो ।

विजयी टिमलाई ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पुरस्कृत गरे । च्याम्पियन भएको पुरुष टिमलाई गलकोट नगरपालिकाले पनि पुरस्कृत गरेको छ । नगरप्रमुख भरत शर्मा गैरेले ५० हजारसहित सम्मान गरे । विजेता टिमबाट त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट, हरि अधिकारी, मानबहादुर श्रेष्ठ, दुर्गा खड्का र राजेन्द्र विष्टले खेलेका थिए । महिलातर्फ विजेता टिमबाट आर्मीकै स्पाइकर सोफिया पुनले खेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्