नयाँ बानेश्वरको सडकमा १५ फिट गहिरो खाल्डो

काठमाडौं — महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ५ बजे ‘सडक भत्कियो’ भन्दै फोन आएको थियो। फोन गर्नेले नयाँबानेश्वर.तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको बताएका थिए। प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको जानकारी आएको थियो।

हरेक हिसाबले संवेदनशील मानिने क्षेत्रमा खाल्डो परेको खबरले ट्राफिक व्यवस्थापनमा बेचैनी गराउने छँदै थियो। त्यसैले उनले नयाँबानेश्वर र तीनकुनेबीचका सबै युनिटहरूलाई ‘अलर्ट’ गराएका थिए। ‘ट्राफिक कोम राखियो, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गर्न लगाएँ, चार ठाउँमा प्रहरीहरू खटाएँ,’ देवकोटाले भने, ‘यति भएपछि खाल्डो परेको ठाउँमा घेरा हाल्यौं।’ देवकोटाका अनुसार कुनै दुर्घटना भने भएको थिएन। समयमै प्रहरीले खाल्डो परेको ठाउँलाई सुरक्षित गरेकाले थप जोखिम घटेको थियो।

सधैं व्यस्त र सवारी चाप अत्यधिक हुने त्यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक पनि हो। ‘बिहानैदेखि सवारीसाधन डाइभर्ट गर्दा समस्या भइरहेको थियो, सकेसम्म सवारी चाप कम गराउन अन्यत्रका युनिटहरूलाई भन्यौं,’ देवकोटाले भने, ‘मुख्य सडकको एउटा लेनमा मात्रै सवारीसाधन चलाउन दिइयो। खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको थियो। देवकोटाका अनुसार सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। त्यसपछि ट्राफिक प्रहरीले सडक विभागमा जानकारी पठायो। यो सडक काठमाडौं सडक डिभिजन कार्यालय मातहतको हो।

डिभिजन सडकको टोली १० बजेपछि मात्रै घटना भएको ठाउँमा पुगेको थियो। टोलीले एउटा एक्स्काभेटर साथमै लिएर गएको थियो। एक्स्काभेटरले सडक कोपर्न थाल्यो। जति कोपर्दै गयो, सडकभित्र अजंगको खाल्डो देखिँदै गयो। ‘यति ठूलो खाल्डो परेको छ भन्ने अनुमान हामीले गरेका थिएनौं,’ देवकोटाले भने। उनका अनुसार एक्स्काभेटरले खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। तर सडकको टोलीले नापजाँच गरिसकेको छैन। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका इन्जिनियरले बताए।

यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको देवकोटाले बताए। ‘ढलले सुरूमा मंगाल फुटाएको देखिन्छ, मंगालबाट ढल लिकेज भएपछि सडकभित्रको माटो गलाएर खाल्डो बनेको देखिन्छ,’ उनले भने। एक्स्काभेटरले खन्दा मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो। ‘मंगालबाट हालसम्म पनि अलिअलि पानी बगिरहेको देखिएको छ,’ देवकोटाले भने।

मंगाल ढल सफा गर्न र एकातिरबाट आएको ढलको पाइपलाई मुख्य ढलतर्फ पठाउन राखिने गरिन्छ। काठमाडौं सडक डिभिजन कार्यालयका इन्जिनियर सुप्रिय चुँडालका अनुसार मंगाल इँटाद्वारा निर्मित हो। यो निकै पुरानो देखिएको छ। यसपालि पहिलेभन्दा बढी नै पानी परेको थियो। पानी परेसँगै ढल निकासमा चाप परेको थियो। ‘मंगाल पुरानो भएकाले पानीको चापले भत्काएको हुनुपर्छ,’ चुँडालले भने, ुमंगाल भत्किएको र त्यसले खाल्डोको आकार बढाएको भर्खरै नै हुनुपर्छ ।

‘अहिले एक्स्काभेटरले खनेर खाल्डो परेको ठाउँबाट पिच हटाउने, माटो झिक्ने काम गरिरहेको छ,’ चुँडालले भने, ‘बाँकी के कसो गर्नुपर्ने हो यो काम सकिएपछि टुंगो लाग्छ।’

प्रतिक्रिया दिनुहोस्