दशैँपछिको दोस्रो कारोबार दिन सेयर बजारको कारोबार ह्वात्तै घट्यो

काठमाडौं — दशैँपछिको दोस्रो कारोबार दिनमा सेयर बजारको कारोबार ह्वात्तै घटेको छ । सोमबार नेप्से परिसूचक ६९.५१ अङ्कले घट्दा २५८७.४५ को बिन्दुमा सीमित भएको छ । असोजको क्लोजिङसँगै बैङ्कहरूले धमाधम ब्याजदर बढाएको सूचना जारी गरेपछि सेयर बजारमा दबाब परेको बजार विश्लेषकहरूले भनाइ छ । सोमबार २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपियाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहबाहेक सबै समूहको परिसूचक घटेर बजार बन्द भएको छ । व्यापार समूहको परिसूचक १८.९४ अङ्कले बढेको हो ।

सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ४२७.०७ अङ्कले घटेको छ भने जीवन बीमा समूहको परिसूचक ३५८.०१ अङ्कले घटेको छ । विकास बैङ्क समूह १६६.९५ अङ्कले, जलविद्युत् समूह १०२.४२ अङ्कले, बैङ्किङ समूह ३८.१३ अङ्कले ओरालो लागेका छन् ।
कारोबारको आधारमा नबिल बैङ्क अग्रस्थानमा छ । उक्त बैङ्कको नौ करोड ८९ लाख ९८ हजार ५१८ रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य एक हजार ४६८ रुपियाँ कायम भएको छ । सानिमा बैङ्कको पनि नौ करोड ८१ लाख ७४ हजार रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४९९ रुपियाँ कायम भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, नेपाल बैङ्क रहेका छन् ।

कारोबारबाट अधिक आम्दानी गर्ने कम्पनीमा ११ प्रतिशत एनआईसी एसिया डिवेञ्चर, महालक्ष्मी विकास बैङ्क, एनआईसी एसिया सेलेक्ट फन्ड ३० रहेका छन् । त्यस्तै घालेम्दी हाइड्रो पावरका लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्