बेलायत सरकारले नेपाललगायत ४७ देशलाई राते सुचीबाट हटायो

काठमाडौं — बेलायत सरकारले नेपाललगायत ४७ देशलाई राते सुचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको हो । अब बेलायतको रातो सूचीमा कोलम्बिया, डोमिनिक रिपब्लिक, इक्वेडर, हाइटी, पनामा, पेरु र भेनेजुएला गरी सात सुची अझै कायम छ ।

अब ३७ देशका नागरिकले बेलायत प्रवेश गर्दा मान्यता प्राप्त कोभिडको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु पर्ने छैन । तर कोरोना परीक्षण ’डे–टु’ प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ। नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ। जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पुर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने बताइएको छ ।

नेपालले गत महिना मात्र खोप लगाएका विदेशी नागरिकलाई अन अराइभल भिसा खुला गरेको थियो । बेलायतले पनि विस्तारै नेपाललाई रातो सूचीबाट हटाएपछि नेपालमा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्