कोभिडं-१९ का कारण बालबालिका र युवाहरूको मानसिक स्वास्थ्यमा वर्षौंसम्म असर पुग्नसक्ने

काठमाडौँ — कोभिडं.१९ का कारण बालबालिका र युवाहरूको मानसिक स्वास्थ्यमा वर्षौंसम्म असर पुग्नसक्ने युनिसेफले जनाएको छ । मंगलबार युनिसेफले बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यका बारेमा विश्लेषण प्रतिवेदन जारी गर्दै यस्तो जनाएको हो ।
युनिसेफ र ग्यालपद्वारा २१ देशहरूमा सञ्चालित बालबालिका र वयस्कहरूको एक अन्तर्राष्ट्रिय सर्वेक्षणको प्रारम्भिक निष्कर्ष र द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन २०२१ मा गरिएको पूर्वावलोकन अनुसार, १५–२४ वर्ष उमेर समूहका ५ युवामध्ये १ ले प्रायः निराश महसुश गरेको वा जुनसुकै काम गर्नमा पनि कम रुचि भएको कुरा व्यक्त गरेका छन् ।

युनिसेफको पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार, विश्वव्यापी रूपमा ७ जनामध्ये कम्तिमा १ जना बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने १ अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्। अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरन्जन साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाहरूले धेरै युवाहरूले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसुश गरिरहेका छन् । विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेको युनिसेफको अनुमान छ ।आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६,००० किशोरकिशोरीहरूको मृत्यु हुन्छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ।

युनिसेफका कार्यकारी निर्देशक हेनेरिट्टा फोर भन्छिन्– ‘बितेका १८ महिना हामी सबै र विशेष गरेर बालबालिकाको लागि धेरै लामो समय भएको छ । राष्ट्रव्यापी बन्दाबन्दी र महामारीका कारण हिँडडुलमा भएको प्रतिबन्धले गर्दा बालबालिकाले आफ्नो जीवनका केही महत्त्वपूर्ण वर्ष परिवार, साथीहरू, कक्षाकोठा र खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वहरूबाट टाढा रहेर बिताएका छन् ।’ उनका अनुसार महामारीभन्दा पहिलेदेखि नै धेरै बालबालिका मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूको बोझले दबिएका थिए। यी महत्त्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारहरूद्वारा थोरै लगानी भइरहेको र मानसिक स्वास्थ्य र भावी जीवन परिणामहरू बीचको सम्बन्धलाई पर्याप्त महत्व नदिइएको प्रतिवेदनमा छ ।

प्रतिवेदन अनुसार वंशाणुगत, जीवनका प्रारम्भिक दिनहरूमा पाएका अनुभव र पर्यावरणीय तत्वहरूको मिश्रण, अभिभावकत्व, विद्यालयको शिक्षा, सम्बन्धहरूको गुणस्तर, हिंसा वा दुर्व्यवहारको जोखिम, भेदभाव, गरिबी, मानवीय संकट र कोभिड –१९ जस्ता सवास्थ्य सम्बन्धी आपतकालीन समस्याहरूले बालबालिकाको मानसिक स्वास्थ्यमा जीवनभर प्रभाव पार्दछ ।हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्य पनि बालबालिका र किशोर किशोरीहरूको महत्वपूर्ण सुरक्षात्मक तत्व मानिन्छ । आमाबाबु र हेरचाहकर्ताहरूलाई तनाव पहिचान गर्न र उपाय खोज्न सहयोग गर्नाले बालबालिकालाई उनीहरूको सबैभन्दा धेरै आवश्यक परेको बेला हेरचाह गर्ने क्षमतामा वृद्धि हुने युनिसेफको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्