जनता माध्यमिक विद्यालय भण्डारीडाँडा बतासेको विगत र वर्तमान

पृष्ठभुमिः २००७ सालको राणाशासनको अन्त्यपछि शिक्षाको उज्यालो छर्न २०१७ सालको आसपास खोटाङ् जिल्ला साविक बतासे वडा नं. २ स्थित हाल परिवर्तित दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. ४ भँडारिडाँडा बतासेमा एउटा प्राथमिक विद्यालयको स्थापना भएको थियो । जसको नामाकरण धर्मोदय प्रा. बि. रह्यो । धर्मोदय नामाकरणको पनि लिगेसि छ ।

यस प्रा.बि.ले साबिक बतासे गाविसक हालको दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका अन्तर्गत बतासे वडाको सबै गाउँहरु जस्तै पाखाटारी,  मुलाबारी,  ढाँडे,  खिसाखा,  नौला,  नाप्तिकु,  भँडारे, वारेम्तुम, पिचाकु, बोल्पा, दिनुवा,  बतासे,  मार्से,  मुसुरी,  पहारपानी, रातमाटा, इजारा लगायत छोरम्बु, र सापातेल लगायतका गाउँ समेतलाई शिक्षा प्रदान गरिरह्यो।

त्यसैबेला यस क्षेत्रमा शिक्षाको माग तिब्र बनाएको थियो । त्यसपछी २०२९ साल तिर निम्नमाध्यमिक बिध्यालयको स्थापना भयो । हो यो त्यही धर्मोदय प्रा. बि. को नै निरन्तरता र बढोत्तरी थियो । तर, नामाकरण चाहिँ जनता नि. मा. बि. रहन गयो । यो सबै काम सारा स्थानिय जनता, समाजका अगुवा र शिक्षा प्रेमीहरुको ठुलो योगदानले संभव भएको थियो ।

यो विद्यालयको स्थापना गर्दा बनाईएका भवन लगायतका सम्पूर्ण भौतिक संरचना निर्माण गर्न स्थानिय समुहदायबाटै त्यो बेला श्रमदान, नगद, तथा खाध्यान्न प्राप्त भएको थियो । यसरी निमावि निर्माण भई संचालनमा आएको मलाई लाग्छ त्यो बेला एक दुई बर्षपछी मात्रै यस विद्यालयलाई सरकारी शैक्षिक अनुदान प्राप्त हुन थालेको हो ।

यस विद्यालयमा स्थापनाको सुरुआतको बर्षहरुमा कतिपय शिक्षकहरुले न निशुल्क नै पढाएका थिए । उनिहरु हाम्रै समाजका अग्रजहरु हुन। तात्पर्य के हो भनेः यो स्कूल सरकारले बनाईदिएको नभै यस क्षेत्रको समाजप्रेमी, शिक्षाप्रेमी, र सारा जनताको अथक परिश्रम र लगानीबाट बनाउन सम्भब भएको र बनाईएको हो । जसमा श्री शैलेन्द्र राईको अग्रणी भुमिका रहेको छ ।

शिक्षा, समाज र देशको लागि अपरिहार्य तत्व भएकोले र यस क्षेत्रमा जनघनत्व वृद्धि हुँदै गएकोले माध्यामिक बिध्यालयको बढोत्तरी हुनु बान्छनिय नै थियो । त्यसै अनुरुप २०३८ सालमा यो जनता निमावि (जनता माविमा परिणत भएको हो ।

मावि भएपछि यसको भौगोलिक दायरा झन बढेर गयो। र, कोशिपारी उदयपुर जिल्ला सम्मका बिध्यार्थिहरु यस विद्यालयमा अध्ययन गर्न आउथे गर्थिए । शिक्षण पेशामा आफ्नो करियर बनाएका कतिपय असल र परिश्रमी ब्यक्तित्वहरुले यहाँ बौद्धिक पसिना बगाएका छन् । सयौं बिध्यार्थिहरुले यही बाट आ-आफ्नो शैक्षिक पखेटा फिजाए ।

तर, आज म के कुरा सुन्दैछु भने यो जनता मावि सार्नु पर्ने भएको छ छ । सर्ब प्रथम यो बहस आउनु नै दुखद छ । करिब ६० बर्षदेखी निरन्तर शैक्षिक गतिबिधि सन्चालन भईरहेको ठाउँबाट अन्तै सार्ने कुरा गर्नु कुनै हिसापले मनासिब होइन । र यस्तो सोच्नै नहुने कुरा हो । सार्न खोजिएको ठाउँ भनेको मुसुरी रहेछ । त्यो ठाउँ भनेको हाल पढाई सञ्चलन भैरहेको विद्यालयबाट दुरिको हिसाबले करिब १५ देखि करिब २० मिनेट जतिको फरक पर्न आउँछ । अचम्म त्यस ठाउँमा त्यो ठाउँमा विद्यालय सार्नु पर्ने के कारण के आईपर्‍यो ?

कसरी त्यसठाउँमा बिध्यालय सार्ने निर्णय भयो ? यस्तो निर्णय लिनु भन्दा पहिले के सबैको सहमती छ ? वा बहुमतबाट पास भएको हो ? मलाई लाग्छ यदि सर्ब सम्मत नभयर, एक व्यक्तिले मात्रै पनि बिरोध जनाँउछ भने पनि यस्तो निर्णय लागू हुनै सक्दैन र हुनुहुँदैन ।

लोकतन्त्रको फर्मुला बहुमतको निर्णय सबै ठाँउमा फिट हुँदैन । सामुदायिक विद्यालयहरु सुचारु रुपले संचालन होस भन्ना खातिर स्थानिय ब्यक्तित्वहरुबाटै विद्यालय संचालक समिती गठन गरिएको हुन्छ । आवधिक रुपमा गठन हुने यो समितिको स्कूलको भौतिक, शैक्षिक गतिबिधीलाई नजिकबाट नियाल्दै सहयोगी र अभिभावकत्वको भूमिका निभाउनु प्रथम कर्तब्य हो । यसको मतलब यो होइन कि बहुमत मानौ पाँच जनाको समिति भए तीन जनाले निर्णय लिना साथ स्कुल सार्न पाँईने वा सकिने !

यस्तो अकर्मन्यताले प्रश्रेय पाँउदै जाँने हो भने अर्को पटक को संचालक समितिको बहुमतले फेरि उहीँ ठाँउमा सार्ने निर्णय लियो भने के हुन्छ ? के आर्थिक हिसाबले यो संभब हुन्छ ? नयाँ ठाँउमा सार्दा चाँहिने भौतिक संरचना भवन ईत्यादिको लागत मूल्य कहाँबाट जुटाउने हो ?

असल कुरा त के हुन्छ भने यदि त्यो बजेट उपलब्ध छ भने एउटा अर्को भवन बनाऔँ वा होष्टेल बनाऔँ एउटा राम्रो पुस्तकालय बनाऔँ । यहि बलियो संरचनाको निर्माण गरौँ । परिस्थिती पहिले भन्दा आज भिन्न छ । प्रत्यक गाउँ-गाँउमा स्कुल खोलिएका छन । वारेम्तुङ्ग, भँडारे, मुलाबारी, जम्मुडाँडा नाप्तिकु, ईजारा आदि ठाउँहरुमा विद्यालयहरु खुली सकेका छन। मुसुरीमा पनि स्कूलको आबस्यक्ता देखिए अर्को नयाँ खोले भई हाल्यो।

कुनै समुदाय, ब्यक्ती, वा बर्गले त्यस ठाउँ र समाज, अनि देशको लागि बनाएको असल कामको संरचना सबैले संरक्षण गर्नु पर्दछ । जस्तो कि बिध्यालय, पाटी, पौवा, धर्मशाला, मठ, मन्दिर, मस्जिद, आदिको संरक्षण र संबर्धन गर्नु सबैको कर्तब्य हुन आउँछ ।

यस्ता ठाउँ भनेका र निर्माण गरिएका संरचनाहरु कतिपय ऐतिहासिक, परम्परा, र त्यहाँका समाजसंग भाबनात्मक सम्बन्ध गाँसिएको हुन्छ । रगत, पसिना र पैसा (अर्थ) लगानी भएको हुन्छ। त्यसैले यो बहुमतले गाईड गर्ने कुरा होइन।

कृष्ण के राई, खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल क्यानडा ।

कृष्ण के राई, हाल क्यानडा ।

 

प्रतिक्रिया दिनुहोस्